बार्सिलोनाले मेस्सीको सन्यासको तयारी

काठमाडौंः बार्सिलोना कप्तान लियोनल मेस्सीलको सन्न्यासको तयारी थालेको छ । फुटबलमा उमेर र फिटनेसले धेरै असर गर्छ । बढ्दो उमेरसँगै बार्सिलोनाले मेस्सीको सन्यासको तयारी गरेको हो । ३१ वर्षको उमेरमा पनि उनी सर्वाधिक गोलकर्ताका रुपमा गोल्डेन बुट जितेका छन् । ला लिगाको जारी सिजन बार्सिलोनाका लागि २० खेलमा २१ गोल गरेका मेसीले समग्रमा २८ खेल खेल्दै सर्वाधिक २९ गोल गरेका छन् ।
बार्सिलोना आफ्ना स्टार खेलाडीको सन्न्यासको तयारीमा लागेको छ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले सिजनको सुरुवातबाटै क्लब मेसीको सन्यासका लागि मानसिक तयारीमा लागेको जानकारी दिएका छन् ।
अब उनले बढीमा २–३ सिजन खेल्न सक्छन् । अथवा त्यसमा थप केही सिजन । ‘एकदिन मेसीले बार्सिलोनाका लागी अन्तिम खेल खेल्नेछन् र फेरी कहिल्यै त्यो जर्सीमा देखिने छैनन् । त्यो दिनका लागि हामी आफ्नो पक्षबाट तयार हुनैपर्छ । मानसिक रुपमा र टिमका रुपमा पनि । बार्सिलोना त्यही दिनका लागि तयार हुँदै छ ।’, बार्टोमेउले भने ।
मेसीको सन्यासपछि बार्सिलोनाले दुईवटा चुनौतीको सामना गर्नुपर्ने छ । एउटा क्लबको लेगेसी कायम राख्न, अर्को क्लबका सर्वाधिक सफल खेलाडी मेसीको लेगेसी प्रतिस्थापन गर्न । बार्सिलोनामा मेसीको स्थान कसैले लिन त सक्दैन तर, मेसी नहुँदा क्लब र समर्थकले भर गर्न सक्ने खेलाडीको आवश्यकता पर्छ ।
बार्सिलोनामा पहिले नेयमारलाई मेसीको उत्तराधिकारीका रुपमा हेर्ने गरिन्थ्यो । तर, २०१७ मा नेयमारले बार्सिलोना छाडेपछि बार्सिलोना हरेक ट्रान्सफर मार्केटमा मेसीको अर्को उत्तराधिकारी खोज्न भौंतारिने गरेको छ ।
यसक्रममा बार्सिलोनाले खेलाडी अनुबन्ध गर्न युरोपमै सबैभन्दा बढी रकम खर्च गर्ने क्लब बन्न पुग्यो । बार्सिलोनाले २१ वर्षिय फ्रेन्च स्ट्राइकर उसमान डेम्बेलेलाई १०५ मिलियन युरो तिरेर जर्मन क्लब डर्टमन्डबाट भित्र्यायो । डर्टमन्डमा उनको प्रदर्शन हेर्दा मेसीको बिँडो थाम्न सक्ने सम्भावना बोकेका खेलाडीजस्तै भान हुन्थ्यो । तर, बार्सिलोनामा उनी चल्न सकेनन् ।
गत सिजन किर्तिमानी १४२ मिलियन युरो तिरेर लिभरपुलबाट फिलिपे काउटिन्होलाई भित्र्याएको बार्सिलोना उनीबाट त अझ बढी निराश भएको छ ।
बार्सिलोनाले मेसीको सन्न्यासपछि टिममा बन्ने खालि ठाउँ भर्न अरु पनि युवा खेलाडी भित्र्याएको छ । बोर्डिअक्सबाट २१ वर्षिय ब्राजिलियन खेलाडी माल्कोमलाई भित्र्याएको बार्सिलोनाले ब्राजिलका अर्का खेलाडी आर्थर मेलो पनि भित्र्याएको थियो । २२ वर्षिय आर्थरबाट भने बार्सिलोनाले मेसीको भन्दापनि मिडफिल्डका लिजेन्ड आन्द्रे इनिएस्टाको स्थान लिने अपेक्षा गरेको छ ।
बार्सिलोनाले एकजना खेलाडीको विकल्पका रुपमा यति धेरै युवा खेलाडीलाई ‘हिट एण्ड ट्रायल’ गर्नुले नै मेसीको सन्न्यासपछि बार्सिलोनाको अवस्था के होला भनेर अनुमान गर्न सकिन्छ । बार्सिलोनाले पनि यो कुरा राम्रोसँग बुझेको छ । वास्तवमा, बुझेको मात्र छैन आत्मसात पनि गरेको छ । त्यसैले त २–३ वर्षअघिदेखि नै उनको उत्तराधिकारी खोज्न लाखौं–करोडौं रकम पानी जसरी बगाउन हिच्किचाएको छैन ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *