पाँचथरमा रातारात दुई परिवारका नौ जनाको हत्या, १२ वर्षीया बालिका बाच्न सफल

पाँचथर – पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ ।
जिल्लाको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका ९ जनाको हत्या भएको हो भने १ बालिका घाइते छिन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले एक परिवारको पाँच र अर्काे परिवारको ४ गरी ९ जनाको हत्या भएको पुष्टि गरे ।
प्रहरी घटनास्थल पुगि नसकेकाले हत्या गरिएका परिवार र व्यक्तिको पहिचान हुन बाँकी छ । १ बालिका घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ विभत्स हत्या कसले, किन गर्‍यो भन्ने खुलेको छैन ।
घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलतर्फ लागेको प्रहरी निरीक्षक पौडेलले बताए । ‘घटनाबारे हामीलाई प्रारम्भिक जानकारी मात्र प्राप्त भएको छ । अहिले नजिकैको ईलाका प्रहरी कार्यालयसँगै जिल्लाबाट टोली घटनास्थलतर्फ लागेको छ,’ प्रहरी निरीक्षक अनिल पौडेलले भने, ‘प्रहरी घटनास्थल नपुगी यसबारे थप केही भन्न सक्ने अवस्था छैन ।’ घटनास्थल मिक्लाजुङ पाँचथर सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिण पर्छ ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मुरारी वस्तीले घटनास्थल सदरमुकामबाट टाढा रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको बताए । उनका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट डीएसपी र नजिकैको इलाका प्रहरी कार्यालयबाट इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जानकारी सीडीओ वस्तीले दिए ।
पाँचथरसँगै छिमेकी जिल्ला झापाबाट पनि प्रहरी बोलाइएको छ । घटनाबारे अनुसन्धानका लागि झापाको साथ खोजिएको प्रजिअ वस्तीले बताए । प्रजिअ वस्तीका अनुसार, झापाबाट डीआईजीसहितको अनुसन्धान टोली अहिले घटनास्थलतर्फ लागेको छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *